गोसाइँकुण्ड यात्रापछि पूर्वमन्त्री राधिका तामाङद्वारा विविध समस्या उजागर



काठमाडौं,कात्तिक २८ । वागमती प्रदेश सदस्य तथा पूर्वमन्त्री राधिका तामाङले गोसाइँकुण्ड क्षेत्र तथा दुप्चेश्वर गाउँपालिकामा रहेका लामो समयदेखि समाधान नपाइरहेका पूर्वाधार–सम्बन्धी समस्याहरू सार्वजनिक गरेकी छन्। कात्तिक ২৩ देखि २५ गतेसम्म रसुवा स्थित गोसाइँकुण्ड र नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पर्ने बर्तकुण्ड, झ्याङ्कुश्री कुण्ड, सुर्यकुण्ड, सुर्य पिक हिमाललगायतका स्थलहरूको दुई दिने भ्रमणपछि उनले स्थानीय समस्याबारे प्रत्यक्ष अध्ययन गरेको बताइन्।

यात्राका क्रममा दुप्चेश्वर–१ का स्थानीय पार्टी कार्यकर्तासहित सुर्यकुण्ड–हाइक्याम्प–फेदी–तालु–शिशिपु–घ्याङफेदी–दुप्चेश्वर मन्दिर हुँदै कात्तिक २६ गते काठमाडौं फर्किएको तामाङले जनाइन्। भ्रमणका बीच हाइक्याम्प र फेदी–तालु क्षेत्रमा रहेका होटल व्यवसायीसँग गरिएको भेटवार्तामा मोबाइल नेटवर्क नपुग्ने, बिजुली लाइन नजोडिएको, पैदल मार्गमा आवश्यक सिँढी निर्माण नहुँदा कठिनाइ हुनेजस्ता समस्या प्रमुख रूपमा उजागर भएको उनले बताइन्। त्यस्तै सुर्यकुण्ड क्षेत्र तथा बाल्मुसिसा आसपासमा अल्टिच्युड सिग्नल पोलको अभावले यात्रुहरूलाई थप जोखिम हुने तथ्यसमेत उनले उल्लेख गरिन्।

उनका अनुसार बागमती प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट निर्माण गरिएको सिसिपु–काङसु–तालु–फेदी सम्मको पदमार्गमा बनेका सिँढीहरूको अनुगमन पनि गरिएको छ। धार्मिक तथा पर्यटकीय सम्भावनाहरूले भरिपूर्ण गोसाइँकुण्ड र सुर्यकुण्ड क्षेत्रलाई अझ व्यवस्थित बनाउने तथा स्थानीयले उठाएका समस्या समाधानतर्फ पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

यात्रा सम्पन्नमा सहयोग पुर्‍याउने दुप्चेश्वर–१ का स्थानीय साथीहरूलाई उनले विशेष धन्यवादसमेत दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्