देवीघाट वृद्धाश्रममा ४० जना ज्येष्ठ नागरिकको मधुमेह परीक्षण, सन्तुलित खानपानमा स्वास्थ्यकर्मीको जोड



नुवाकोट,कात्तिक २९ । नुवाकोटको विदुर नगरपालिका–५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्धबुबाआमाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामूलक रुपमा ध्यान दिँदै शुक्रबार स्वास्थ्य परीक्षण गरिएको छ।

“खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ ? आफु मेटाइ अरूलाई दिनु जहाँ छ” भन्ने मुख्य नारासहित विश्व मधुमेह दिवस को अवसरमा गरिएको कार्यक्रममा ४० जना वृद्धबुबाआमाहरूको मधुमेह परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज नेपालले जानकारी दिनुभयो।

अस्वस्थ जीवनशैली र खानपानका कारण पछिल्लो समय मधुमेहका बिरामी बढ्दै गएको उल्लेख गर्दै नेपालले प्रतिष्ठानमा आश्रित वृद्धबुबाआमाहरूको पहिलो पटक व्यापक रूपमा परीक्षण गरिएको बताउनुभयो। परीक्षणमा सहभागी अधिकांश वृद्धहरूमा मधुमेह देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

लायन्स क्लब अफ काठमाडौं स्वयम्भूको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले वृद्धबुबाआमाहरूलाई सन्तुलित खानपान र नियमित स्वास्थ्य परीक्षणमा ध्यान दिन आग्रह गरेका थिए।

लायन्स क्लबका अध्यक्ष गीता अमात्यको पहलमा आयोजित कार्यक्रममा क्लबका जोन चेयरपर्सन सुशील फुयाल, उपाध्यक्ष निश्चल पनेरु, उपाध्यक्ष आशिष थापा, सचिव भाइराजा ढुङ्गाना, ल्याब टेक्निसियन समर्पण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणसँगै मिष्ठान्न भोजन समेत गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्