काश्मिरको श्रीनगरस्थित प्रहरी चौकीमा भीषण विस्फोट : ९ को मृत्यु, ३१ घाइते
नयाँदिल्ली,कात्तिक २९ । भारतको जम्मु–काश्मिरको श्रीनगर अन्तर्गत नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी चौकी र परिसरभित्र पार्क गरिएका सवारीसाधनमा आगलागी फैलिँदा ठूलो भौतिक क्षति भएको भारतीय मिडियाले उल्लेख बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार, विस्फोट दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदावादबाट ल्याइएका सामग्री परीक्षण गर्ने क्रममा भएको हुनसक्ने प्रारम्भिक सूचना आएको छ। तर घटना सम्बन्धमा प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन।
घटनामा मृत्यु हुनेहरूमध्ये अधिकांश प्रहरी तथा फरेन्सिक जाँच टोलीका सदस्य रहेको जनाइएको छ। विस्फोटलगत्तै ठूलो संख्यामा दमकल, प्रहरी र एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको हो।
यसअघि दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार बम विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने पछिल्ला विवरणअनुसार मृतक संख्या १३ पुगेको बताइएको छ।

