छैटौँ टाइगर कप भलिबलको पुरस्कार राशिमा वृद्धि
पोखरा,कात्तिक २९ । छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आगामी माघ दोस्रो साता हुने उक्त प्रतियोगिताको महिला तथा पुरुषतर्फ विजेता हुने टोलीलाई ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने भएको छ ।
त्यसै गरी उपविजेतालाई भने ३ लाख ६६ हजार ६ सय ६६ साथमा शिल्ड मेडल प्रमाण पत्र प्रदान गरिने भएको हो । यस वर्ष विजेता तथा उपविजेता हुने टोलीलाई गत वर्षको तुलनामा ८१ हजार १ सय ११ रुपैयाँ वृद्धि गरिएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनुभयो । त्यसै गरी प्रतियोगितामा तेस्रो हुने टोलीलाई १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने भएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई २६ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने भएको छ भने प्रतियोगितामा उत्कृष्ट ५ विधाका खेलाडी सहित प्रशिक्षकलाई जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्रदान गरिने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ ९ देखि १७ गतेसम्म छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता हुने भएको हो । गत वर्ष प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका थिए ।

