नुवाकोटमा निःशुल्क जलन, प्लास्टिक तथा कस्मेटिक सर्जरी शिविर
नुवाकोट,कात्तिक २९ । विदुर नगरपालिकाले त्रिशूली अस्पताल, लाइन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंसँगको सहकार्यमा आजदेखि त्रिशूली अस्पताल, नुवाकोटमा निःशुल्क जलन, प्लास्टिक तथा कस्मेटिक सर्जरी सम्बन्धी शिविर सञ्चालनमा ल्याएको छ।
उक्त शिविरको उद्घाटन नगरप्रमुख राजन श्रेष्ठले एक विशेष समारोहका बीच गरेका हुन्। नगरप्रमुख श्रेष्ठले शिविरमा उपलब्ध सेवाहरूको स्वास्थ्य परीक्षण गराई अधिकतम लाभ लिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने यो शिविर मंसिर १ गतेसम्म निरन्तर चल्नेछ। जलन उपचार, प्लास्टिक तथा कस्मेटिक सर्जरीका विविध सेवा निःशुल्क रूपमा उपलब्ध गराइने भएकाले नुवाकोट तथा आसपास क्षेत्रका बिरामीहरूका लागि यो शिविर महत्वपूर्ण अवसर मानिएको छ।

