नुवाकोटमा ‘परान’ टोलीको उपस्थितिः दर्शकसँगै बसेर चलचित्र अवलोकन, कथा–अभिनयले पायो प्रशंसा
नुवाकोट,कात्तिक २९ । नेपाली कथानक चलचित्र ‘परान’ को निर्माता तथा कलाकारहरूको टोली शनिबार नुवाकोटको बट्टारस्थित शिवालय सिनेप्लेक्समा पुगेको छ। उनीहरूले दर्शकहरूसँगै नजिक बसेर चलचित्र अवलोकन गर्दै फिल्मप्रतिको प्रतिक्रिया प्रत्यक्ष सुने।
चलचित्र प्रदर्शनपछि दर्शकहरूले ‘परान’ लाई राम्रो कथा, सशक्त अभिनय र भावनात्मक प्रस्तुति भएको भन्दै निर्माण टोलिलाई धन्यवाद दिएका थिए। कार्यक्रममा नायिका अञ्जना बराइलीसँग दर्शकहरूले स्मरणीय फोटो सेसनसमेत गरेका थिए, जहाँ हल सकारात्मक ऊर्जा र खुसीले भरिएको थियो।
शिवालय सिनेप्लेक्सका प्रबन्ध निर्देशक सन्तोष अधिकारी ‘सरगम’ ले नुवाकोटका दर्शकलाई गुणस्तरीय मनोरञ्जन उपलब्ध गराएकोमा निर्माता–कलाकार टोलीले आभार व्यक्त गरेका छन्। दर्शकहरूले पनि सिनेप्लेक्सको व्यवस्थापन र सेवा प्रवाहबाट सन्तुष्टि जनाएका छन्।
परिवारको बिछोड, सन्तानप्रतिको अपेक्षा र जीवनको उत्तरार्धमा माया–सहारा खोजिरहेका एक बाबुको हृदयस्पर्शी कथा समेटिने ‘परान’ मा वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा छन्। नेपाली सिनेमा जगतका ‘अभिनयका भीष्मपितामह’ मानिने शाह लामो समयपछि शीर्ष भूमिकामा फर्किएकाले चलचित्रप्रति विशेष चासो बढेको छ।

