दुप्चेश्वर धामको भेटी संकलन: एकै दिनमा दुई लाखभन्दा बढी



नुवाकोट, कार्तिक २९ —दुप्चेश्वर गाउँपालिका–६, स्थित पवित्र  दुप्चेश्वर धाममा शनिबार (२०८२ कार्तिक २९) मात्र रु. २,१८,३४० भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको छ। भेटी संकलनमध्ये डिजिटल माध्यम (QR)मार्फत रु. ८,२८५ र मध्यान्ह आरतीबाट मात्रै रु. ९८,६१० प्राप्त भएको कोषाध्यक्ष राजकुमार श्रेष्टले बताए।

कोषका अनुसार भेटी गणना कार्य प्रत्येक दिन साँझ ५ बजे धाम परिसरमा सार्वजनिक रूपमा गरिँदै आएको छ। समय मिल्ने श्रद्धालु तथा इच्छुक महानुभावलाई भेटी गणना स्थलमा उपस्थित रहन कोषले सधैव अनुरोध गर्दै आएको छ।

यसैबीच, दुप्चेश्वर धाममा हरेक वर्षझैँ मनाइने ‘धान्यपूर्णिमा मेला’ नजिकिँदै आएको छ। आगामी मंसिर २८ गतेदेखि सुरु हुने यो मेला सभ्य, भव्य, व्यवस्थित र सुरक्षित बनाउनका लागि समाजमा रहेका सचेत नागरिकबाट सकारात्मक सल्लाह तथा सुझाव दिन अनुरोध गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्