गुर्जेभञ्ज्याङमा शिवपुरी–६ को सरसफाइ अभियान : यात्रु र सवारी चालकलाई फोहोर नफ्याक्न आग्रह



नुवाकोट,कात्तिक ३०— शिवपुरी गाउँपालिका वडा नं ६ ले गुर्जे भञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा सरसफाइ अभियान संचालन गर्दै सडक उपयोगकर्ता र यात्रुहरूलाई फोहोर नफ्याक्न आग्रह गरेको छ।

शनिबार सम्पन्न गरिएको सरसफाइमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गुर्जे भञ्ज्याङदेखि गुर्जे चौकीसम्म सडकछेऊछाउमा थुप्रिएका फोहोर संकलन गरिएको हो। सवारीसाधनमा यात्रा गर्ने यात्रु तथा बटुवाले बाटोमा फालेका प्लास्टिक, बोतल, कागजलगायतका फोहोर संकलन गर्दै सरसफाइ कार्यक्रम अघि बढाइएको थियो।

वडा अध्यक्ष विष्णु श्रेष्ठका अनुसार, “यो पहिलो जनचेतनामूलक सरसफाइ अभियान हो। गुर्जे भञ्ज्याङ महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले वातावरण स्वच्छ राख्नु सबैको जिम्मेवारी हो। अब हरेक टोलटोलमा निरन्तर सरसफाइ कार्यक्रम संचालन गरिनेछ।”

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।

वडाले सडक प्रयोगकर्तालाई फोहोर नफ्याक्न, आफ्नो क्षेत्र स्वच्छ राख्न र सौन्दर्य तथा पर्यटकीय महत्व जोगाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्