“निर्वाचनको विकल्प छैन” — जसपा अध्यक्ष उपेन्द्र यादव
भैरहवा,कात्तिक ३० — जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचन बाहेक कुनै विकल्प नभएको बताएका छन्। पार्टीको लुम्बिनी प्रदेश समिति पहिलो अधिवेशनलाई शनिबार भैरहवामा सम्बोधन गर्दै यादवले सरकार चुनावको वातावरण बनाउनतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले अहिले सुरक्षा अवस्थाप्रति सर्वसाधारणमै चिन्ता बढिरहेको उल्लेख गर्दै प्रहरीले नै असुरक्षित महसुस गरिरहेको परिस्थितिको अन्त्य गर्न सरकार जिम्मेवार बन्न आवश्यक रहेको बताए। “सरकारको पहिलो दायित्व निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन स्वयं भयभित छ भने कसरी चुनाव वातावरण बन्छ?” उनले प्रश्न गरे।
पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको आवाज संसद् र सरकारमार्फत अभिव्यक्त हुने भन्दै जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने धारणा राखे।
यादवले पार्टी तथा उम्मेदवारले पैसा खर्च गर्ने बाध्यता अन्त्य गर्नेगरी निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सङ्घीय संरचनाभित्र प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइ संघीयता प्रभावकारी लागू गर्नुपर्नेमा पनि जोड दिए।

