दलितको दुध किनेकै कारण शेरबहादुरको पसल बन्द



बैतडी,कात्तिक ३०— बैतडीका शेरबहादुर कुँवरले उन्नत जातका गाई ल्याएर डेरी पसल सञ्चालन गर्दै स्थानीय बजारमा शुद्ध दुध आपूर्ति गर्न चाहेका थिए। तर उनी दलित समुदायको दुध किन्न थालेपछि जातीय विभेदकै कारण डेरी पसल नै बन्द गर्न बाध्य भए।

दशरथचन्द नगरपालिका–५, नौहाटका ५८ वर्षीय कुँवर २६ वर्षदेखि उन्नत जातका गाई पाल्दै आएका छन्। ससुराली भारतको पिथौरागढमा उन्नत गाईपालन देखेपछि २०५६ सालमा उनी सात दिन हिँडेर गाई बैतडी ल्याएका थिए। त्यतिबेला सदरमुकामका होटलहरूमा ताजा दुधको अभाव थियो।

कुँवरले दलित तथा गैरदलित सबै किसानलाई सामेल गर्दै कामधेनु दुग्ध सहकारी स्थापना गरे। तर दलित समुदायको दुध किन्न थालेपछि समाजमा “शेरबहादुरले दलितको दुध किनेछ” भन्ने हल्ला फैलियो। ग्राहकहरू प्रतिक्रिया जनाउन थाले र अन्ततः डेरी पसल बन्द भयो।

उनी भन्छन्, “त्यो समय दलितलाई होटेलमा प्रवेश नै निषेध थियो। म भने उनीहरूको गुणस्तरीय दुध सहजरूपमा बजारमा ल्याउन चाहन्थेँ। तर हल्लाले सबै उल्ट्याइदियो।”

उनकी धर्मपत्नी देवकी कुँवरले पनि त्यही पीडा सम्झिन्छिन्। उनका अनुसार दलित समुदायले ल्याएको दुध नै सबैभन्दा शुद्ध हुन्थ्यो, पानीको एक थोपा पनि नथपिएको। तर सामाजिक पूर्वाग्रहका कारण उनीहरूले डेरी बन्द गर्ने निर्णय गर्नुपर्‍यो।

डेरी बन्द भए पनि कुँवर दम्पतीले हिम्मत हारेनन्। उनीहरूले गाउँमै दुध सङ्कलन गरी सरकारी कार्यालय, सुरक्षा निकायका ब्यारेक तथा डेरामा बस्ने विद्यार्थीहरूसम्म दुध पुर्‍याउन थाले।

वर्तमानमा पनि उनको परिवार उन्नत गाईपालनमा सक्रिय छ। घरमा रहेको होलेस्टाइन ब्रिजिया जातका गाईले दैनिक ३० लिटर दुध दिन्छ। छोरा हेमन्त कुँवर मोटरसाइकलमा घर–घर गएर दुध वितरण गर्छन् र अन्य गाउँका किसानको दुध बिक्री गरिदिने जिम्मा पनि लिन्छन्।

जातीय विभेदका कारण धेरै दुःख सहनुपरे पनि कुँवर परिवारले गाईपालनलाई पेशा मात्र होइन, आत्मसम्मानको संस्कारका रूपमा निरन्तर अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्