बागमती, कोशी र गण्डकीका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली



काठमाण्डाै,कात्तिक ३० – आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज पनि तराईका थोरै ठाउँमा हुस्सु लागेको महाशाखाका मौसमविद् डेभिड ढकालले बताउनुभयो । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । देशभर तापक्रम घट्न थालेसँगै चिसो बढेको छ ।

आज बिहान पौने ५ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियसमा झरेको छ । हिजो बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस नै रहेको थियो ।

त्यसअघि न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस रहेको थियो । देशका अरू ठाउँमा पनि तापक्रम घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ३.६ डिग्री सेल्सियस मापन भएको छ । 

प्रतिक्रिया दिनुहोस्