नुवाकोटको बट्टार रातेमाट्टे डाँडामा नयाँ सम्पवेल सञ्चालनको अन्तिम चरणमा
नुवाकोट,कात्तिक ३०— विदुर नगरपालिका–२ बट्टार रातेमाट्टे डाँडामा तादी खोलामा निर्माण गरिएको सम्पवेल (पानी संकलन गर्ने पोखरी)डेढ वर्षको लामो मेहनतपछि सञ्चालनको अन्तिम चरणमा पुगेको छ। यससँगै अब बर्खायाममा देखा पर्ने खानेपानी अभाव समधान हुने अपेक्षा गरिएको छ।
खानेपानी आपूर्तिको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्यसहित विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक कायस्थ को समन्वय तथा नेतृत्वमा काम अघि बढाइएको थियो। यस परियोजनालाई सफल बनाउन विदुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष सञ्जीव श्रेष्ठ सहित सम्पूर्ण उपभोक्ता टिमले निरन्तर साथ दिएको स्थानीयहरूले बताएका छन्।
तादी खोलामा निर्माण गरिएको नयाँ सम्प्योल चलनचल्तीको पुरानै लाइनमार्फत सञ्चालनमा ल्याइने छ। यसको कार्य सम्पन्न भएपछि वर्षातको समयमा बारम्बार आउने खानेपानी अवरुद्ध हुने समस्या अन्त्य हुने विश्वास लिइएको छ।
स्थानीयवासीहरूले बर्सौंदेखि आवश्यक परिरहेको खानेपानी पूर्वाधार निर्माण कार्य सफलतापूर्वक अन्तिम चरणमा पुगेको भन्दै सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

