नुवाकोटमा ‘प्याब्सन शिक्षा मन्दिर’ भवन उद्घाटन, उत्कृष्ट विद्यालय र प्रतिभा सम्मान
नुवाकोट,मंसिर १ । नुवाकोट जिल्लाका संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सन नुवाकोटले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा काम सुरु गरेको छ। बट्टार बसपार्कस्थित ६ आना जग्गामा निर्माण भएको नयाँ भवन ‘प्याब्सन शिक्षा मन्दिर’ आइतबार एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले भवन उद्घाटन गर्दै नुवाकोट शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरूको भूमिका महत्वपूणर् रहेको बताए। प्याब्सन जिल्ला अध्यक्ष पुरुषोत्तम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहअध्यक्ष गोपाल प्रसाद आचार्य, बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सञ्जेल, विदुर–१ का वडा अध्यक्ष लेलिन रञ्जित, वडा–४ का अध्यक्ष निलमबाबु ढुंगेल तथा प्याब्सन नुवाकोटका पूर्व अध्यक्षहरू सहितको उपस्थिति थियो।
करीब ७५ लाख रुपैयाँ लागतमा तयार भएको यो भवन सदस्य विद्यालयहरू तथा विभिन्न प्रकाशन गृहहरूको सहयोगमा निर्मित गरिएको हो। कार्यक्रममा २०८१ सालको एसईई परीक्षामा जिल्लास्तरमा उत्कृष्ट नतिजा ल्याएका विद्यालयहरूलाई सम्मान गरिएको थियो। नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कूल प्रथम, नर्थ स्टार बोर्डिङ स्कूल द्वितीय, गणेश भ्यू बाटिका तृतीय र नेशनल बेथेल चौथो बने।
यस्तै ‘सर्वोत्कृष्ट विद्यालय २०८१’ को नतिजामा माध्यमिक तहमा नुवाकोट ग्लोरी सेकेन्डरी बोर्डिङ स्कूल (सूर्यगढी–५) र आधारभूत तहमा सामुदायिक विद्या मन्दिर (देविघाट) पुरस्कृत भए। यी दुबै विद्यालय अघिल्लो वर्ष पनि उत्कृष्ट बनेका थिए।
प्याब्सनले मासिक रूपमा सञ्चालन गर्दै आएको अतिरिक्त गतिविधि अन्तर्गत यस वर्ष नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो। दुबै विधामा गणेश भ्यू बाटिका र गुडविल एकेडेमीले प्रथम र द्वितीय स्थान हात पारे। नृत्यमा तृतीय नुवाकोट ग्लोरी, सान्त्वना सुभेनियर बोर्डिङ स्कूल र त्रिशूली सामुदायिक स्कूल रहे। गायनमा तृतीय सुभेनियर बोर्डिङ स्कूल र सान्त्वना सेइ बोर्डिङ स्कूलले स्थान पाए।
प्याब्सन नुवाकोटमा हाल ३९ संस्थागत विद्यालय आवद्ध रहेका छन्।

