एकता घोषणापछि नेकपाको देशव्यापी सन्देश सभा : मंसिर ९ देखि सातै प्रदेशमा कार्यक्रम



काठमाडौं, मंसिर १ । १२ घटक दलसँगको एकता घोषणापछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभर सन्देश सभा सञ्चालन गर्ने निर्णय गरेको छ। नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पूर्वपदाधिकारी बैठकले एकताको सन्देश देशव्यापी रूपमा फैलाउन सातै प्रदेशबाट अभियान सुरु गर्ने निर्णय गरिएको नेता एवं पूर्वमन्त्री भीम रावलले जानकारी दिनुभयो।

नेता रावलका अनुसार मंसिर ९ देखि २७ गतेसम्म सातै प्रदेशमा एकताबारे जानकारी गराउने, आगामी योजनाबारे प्रशिक्षित गर्ने र संयुक्त उपस्थितिको प्रदर्शन गर्ने उद्देश्यले सन्देश सभा आयोजना गरिने छ। उहाँले भन्नुभयो, “कुन प्रदेशमा कुन समयमा को नेतृत्व जाणे भन्ने विस्तृत कार्ययोजना बाँकी छ, तर तत्काल सन्देश सभा सञ्चालन गरेर एकताको संदेश जनतासम्म पुर्‍याउने तयारी भएको छ।”

सन्देश सभापछि कार्यक्रमलाई अझ संरचित बनाउँदै ७७ जिल्लामा एकै दिन सन्देश सभा गर्ने नेकपाको योजना रहेको नेता मेटमणि चौधरीले बताउनुभयो। त्यसपछि ७५३ स्थानीय तहमा समेत एकैदिन सभा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। जिल्ला र स्थानीय तहमा सभा सञ्चालनको मिति भने पार्टीको अर्को बैठकले तय गर्ने उल्लेख गरिएको छ।

नेकपाले एकतापछि पार्टीभित्रको सुदृढीकरण, संरचनागत एकीकरण तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउन देशव्यापी अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्