पाथीभरा मन्दिरमा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङ, मंसिर १। प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा कात्तिक महिनामा मात्र ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिनाको मसान्तमा सार्वजनिक गर्दै आएको विवरण अनुसार पछिल्लो महिनामा दर्शनार्थीको भीड बढेपछि भेटी रकम पनि उल्लेख्य रूपमा वृद्धि भएको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार अहिले पाथीभरा दर्शनको प्रमुख सिजन भएकाले भक्तजनको आगमन अत्यधिक बढेको छ, जसले भेटी सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको छ।
समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा मन्दिर परिसरबाट भेटी सङ्कलन गरी पोकामा लाहा छाप लगाएर फेदीसम्म ल्याइने, त्यहाँ करिब एक सातासम्म सुरक्षित राखी फुङलिङस्थित कार्यालयमा दैनिक गणना गरी बैंकमा जम्मा गर्ने प्रचलन रहेको समितिले जनाएको छ। भेटी गणनाका सबै प्रक्रिया प्रहरी तथा सिसिटिभीको कडाइपूर्ण निगरानीमा हुने व्यवस्था गरिएको छ।
समितिले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कात्तिक महिनामा मात्रै ४२ हजार २६१ जना तीर्थयात्री पाथीभरा मन्दिरमा दर्शनका लागि आएका छन्। निरन्तर बढ्दो भक्तजनको आगमनसँगै आगामी महिनाहरूमा भेटी सङ्कलन थप बढ्ने अपेक्षा समितिले जनाएको छ।

