विश्व पाठेघर मुख क्यान्सर निवारण दिवस आज : नेपालमा दैनिक ६ महिलामा रोग, ४ को मृत्यु
काठमाडौँ, मंसिर १। आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नारासहित यो दिवस नेपालमा पहिलोपटक मनाइँदैछ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर विश्वकै चौथो मुख्य क्यान्सर हो। प्रत्येक वर्ष विश्वभर करिब छ लाख ६० हजार महिलामा यो रोग देखिन्छ भने करिब तीन लाख ५० हजार महिलाले ज्यान गुमाउँछन्।
नेपालमा क्यान्सरबाट महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दैनिक छ महिलामा यो क्यान्सर देखापर्दै आएको छ भने दैनिक चार जनाले यसकै कारण मृत्यु भइरहेको छ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले भिडियो सन्देशमार्फत समयमै स्क्रिनिङ, एचपिभी खोप विस्तार, जनचेतना अभिवृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरण आवश्यक रहेको बताउनु भयो। उहाँका अनुसार राष्ट्रिय खोप कार्यक्रममा एचपिभी खोप समावेश भएपछि ९४ प्रतिशत किशोरीले पहिलोपटक निःशुल्क खोप पाएका छन्। आगामी फागुनमा कक्षा ६ का छात्रा र १० वर्ष उमेरका विद्यालयबाहिर रहेका किशोरीलाई पनि एचपिभी खोप वितरण गरिनेछ।
सरकारले सन् २०३० सम्म ९० प्रतिशत किशोरीलाई एचपिभी खोप उपलब्ध गराउने, ३० वर्षभन्दा माथिका ९० प्रतिशत महिलाको स्क्रिनिङ गराउने र क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलालाई उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ। चिकित्सकका अनुसार ३० वर्षमाथिका सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच गराउनुपर्छ भने एचआईभी सङ्क्रमित महिलाले २५ वर्षदेखि नै स्क्रिनिङ सुरु गर्नुपर्ने हुन्छ।
नेपाल जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार हाल करिब ११ प्रतिशत महिलाले मात्र पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराएका छन्। महिलामा सचेतना अभाव, स्वास्थ्य सेवामा सीमित पहुँच, दक्ष जनशक्ति कमी, कमजोर कार्यक्रम सञ्चालन, सामाजिक लाज–संकोच तथा आर्थिक कारणले धेरै महिलामा रोग ढिलो चरणमा मात्र पत्ता लाग्ने र मृत्यु दर उच्च रहने जनाइएको छ।

