साउदी अरबमा बस–ट्यांकर ठोक्किँदा ४२ भारतीय तीर्थयात्रीको मृत्यु



साउदी अरेबिया,मंसिर १ । साउदी अरेबियामा आइतबार मध्यराति भएको भयावह सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। मक्काबाट मदिना जाँदै गरेका मुस्लिम तीर्थयात्री सवार बस एक डिजेल ट्याँकरसँग ठोक्किँदा ठूलो जनधनको क्षति भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृतकमध्ये २० महिला र ११ बालबालिका रहेको बताइएको छ। दुर्घटनामा बसका चालक मात्रै जीवित रहेका बताइन्छ। अधिकांश मृतकहरू हैदराबाद क्षेत्रका रहेको भारतीय पक्षले जनाएको छ।

यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब १:३० बजे भएको हो। दुर्घटना हुँदा सबै यात्रुहरू सुतेको अवस्था रहेको बताइएको छ।

दुर्घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग सहकार्य गर्दै पीडितहरूको पहिचानका लागि दिल्लीस्थित अधिकारीहरूलाई निर्देशन दिएको छ।

विदेशमन्त्री एस. जयशंकरले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जेद्दा स्थित भारतीय दूतावास तथा वाणिज्य दूतावास प्रभावित परिवारलाई आवश्यक सहयोग गरिरहेको बताएका छन्। दूतावासले हेल्पलाइन जारी गरेको छ भने तेलंगाना सरकारले पनि परिवारका लागि सचिवालयमा कन्ट्रोल रूम स्थापना गरेको छ।

प्रतिक्रिया दिनुहोस्