विदुरमा निर्माणाधीन पृथ्वी सङ्ग्रहालय सञ्चालनतर्फ, जर्मन विज्ञसँग सहकार्य
नुवाकोट,मंसिर १ । विदुर नगरपालिका–२ मा निर्माण गरिएको पृथ्वी सङ्ग्रहालय सञ्चालनका तयारीलाई तीव्रता दिन नगरप्रमुख राजन श्रेष्ठले जर्मन पुरातात्विक सम्पदा विज्ञ डाक्टर स्टेफनी लोटरसँग स्थलगत अवलोकन गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको छ।
नगरप्रमुख श्रेष्ठ, पुरातात्विक सम्पदा संरक्षण अभियन्ता भरत महर्जन तथा विभिन्न क्षेत्रका विज्ञको सहकार्यमा गरिएको अवलोकनपछि डाक्टर लोटर ले सङ्ग्रहालय सञ्चालनका लागि ऐतिहासिक सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ।
हाल बेलायतमा अध्यापनरत डाक्टर लोटर विभिन्न अनुसन्धान तथा पुरातात्विक परियोजनामा आबद्ध विज्ञ हुनुहुन्छ। उहाँको सहयोग प्रतिवद्धतासँगै पृथ्वी सङ्ग्रहालय छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य पूरा हुने नगरपालिका पक्षले जनाएको छ।
सात रोपनी जग्गामा पाँच करोड २८ लाख रुपैयाँ लागतमा बनेको उक्त सङ्ग्रहालय सञ्चालनका क्रममा देखा परेका चुनौतीहरू नगरप्रमुख श्रेष्ठको सक्रियताले क्रमशः समाधानतर्फ उन्मुख भइरहेका छन्।

