मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, आन्दोलन तयारीका बीच सुरक्षा निकाय चनाखो



काठमाडौँ, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका प्रसाईंलाई गएराति भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। हाल उनी जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

सुरक्षा स्रोतका अनुसार प्रसाईंले भड्काउने खालका अभिव्यक्ति दिँदै आएको र त्यस्तो गतिविधिले हिंसा हुन सक्ने जोखिम देखिएकाले पक्राउ गरिएको हो। प्रसाईंले यातायातसहित देशभरका क्षेत्र ठप्प पार्ने भन्दै साताभित्रै ठूलो आन्दोलनको तयारी गरिरहेका थिए।

यसअघि सोमबार भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्ना मागबारे सरकारलाई जानकारी गराए पनि कुनै चासो नदिएको आरोप लगाएका थिए। शान्तिपूर्ण आन्दोलन सबैको अधिकार भएको र कसैले आफूहरूको आन्दोलन रोक्न नसक्ने उनले दाबी गरेका थिए।

प्रसाईंले जेनजीले उठाएका विभिन्न मुद्दामा सरकारको ध्यान नपुगेको, बरु सरकारले आगामी चुनावमा मात्र ध्यान केन्द्रित गरेको भन्दै असन्तोष व्यक्त गरेका थिए। साथै आफूहरूले अघि सारेका एजेन्डा—विशेषगरी हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासम्बन्धी विषय—जनमत सङ्ग्रहमार्फत टुङ्ग्याउनुपर्ने उनले बताउँदै आएका छन्।

उनका मागका विषयमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएको थियो। सुरक्षा निकायले आन्दोलनअघि नै प्रसाईंलाई नियन्त्रणमा लिएसँगै आगामी केही दिन उपत्यकासहित देशभर सुरक्षा सतर्कता बढ्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्