त्रिशूली अस्पतालमा निःशुल्क शल्यक्रिया शिविर सम्पन्न, तीन दिनमा २१४ ले सेवा पाए
विदुर,मंसिर २ । त्रिशूली अस्पतालमा आयोजित निःशुल्क जलन, प्लास्टिक तथा कास्मेटिक शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विदुर नगरपालिका, त्रिशूली अस्पताल, लाइन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंको संयुक्त आयोजनामा कार्तिक २९ गतेबाट सुरु भएको शिविर हिजो मंसिर १ गते सम्पन्न भएको हो।
तीन दिनसम्म चलेको शिविरमा २१४ जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक सेवा लिएका अस्पतालले जनाएको छ। शिविरका दौरानमा दर्जनौँ बिरामीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको र केहीलाई थप विशेषज्ञ उपचारका लागि रिफर गरिएको बताइएको छ।
शिविरमा महिलादेखि बालबालिकासम्मको उल्लेख्य सहभागिता रहेको थियो। जलन(burn injury), जन्मजात दाग, छालासम्बन्धी समस्या तथा कास्मेटिक सुधारका केसमा विशेष प्रभाव देखा परेको चिकित्सकहरूको भनाइ छ।
जनताको स्वास्थ्य सेवामा निरन्तर सक्रिय त्रिशूली अस्पतालले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका बिरामीहरूलाई ठूलो राहत मिलेको बताएको छ। सेवाग्राही तथा सरोकारवालाहरूले अस्पताल र संयोजक संस्थाहरूको यस पहलप्रति प्रशंसा व्यक्त गरेका छन्।

