राष्ट्रिय कर दिवसमा नुवाकोटका प्रमुख करदाता विष्णुप्रसाद रिमाल सम्मानित



विदुर, मंसिर २। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नुवाकोट जिल्लाबाट सबैभन्दा धेरै आयकर तिर्ने करदाता विष्णुप्रसाद रिमाल सम्मानित भएका छन्। आ.व. २०८०/८१ मा सर्वाधिक कर तिरेका रिमाल त्रिशूली बर्डिङ एण्ड रिसर्च फार्म प्रालिका सञ्चालक तथा नुवाकोट उद्योग वाणिज्य संघका सक्रिय सदस्य हुन्।

सोमबार करदाता सेवा कार्यालय गल्छिद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमप्रकाश शाही, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी सहितका व्यक्तित्वहरूको उपस्थितिमा रिमाललाई सम्मान गरिएको हो।

कार्यक्रमका वक्ताहरूले कर तिर्नु राष्ट्रप्रति जिम्मेवारी र दायित्व भएको उल्लेख गर्दै रिमालले कर दायित्व निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको प्रशंसा गरे। कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका प्रतिनिधि दिनेशकुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो।

त्यस्तै धादिङ जिल्लाबाट आ.व. २०८०/८१ मा सबैभन्दा धेरै कर तिर्ने आर्जित कन्स्ट्रक्सनका अम्बिका खड्कालाई पनि सोही समारोहमा सम्मान गरिएको करदाता सेवा कार्यालयले जनाएको छ।

सरकारले हरेक वर्ष कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ, जसले करदातामा उत्साह र पारदर्शी कर प्रणालीप्रति विश्वास बढाउने उद्देश्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्