पूर्वराष्ट्रपति भण्डारीसँग सञ्चारमन्त्री खरेलको भेट : आगामी निर्वाचनका तयारीबारे ब्रिफिङ
काठमाडौँ, मंसिर २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका तयारीबारे जानकारी गराएका छन्।
सोमबार बालुवाटारस्थित निवासमा भएको भेटमा दुवैबीच सरकारको कामकारबाही, राजनीतिक वातावरण, शान्ति–सुरक्षा, तथा आगामी फागुन २१ मा हुने निर्वाचनका विषयमा विस्तृत छलफल भएको पूर्वराष्ट्रपतिका सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री खरेलले सरकारले चुनावी माहोल निर्माण, शान्ति–सुरक्षा सुदृढीकरण तथा समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी भइरहेकाबारे पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराए। उहाँले सबै राजनीतिक दलले निर्वाचनमा सकारात्मक संकेत देखाएको र केही दलले सुरक्षा व्यवस्थामा चासो राखेकाले सरकारले त्यसलाई प्राथमिकताका साथ सम्बोधन गरिरहेको बताए।
सञ्चारमन्त्री खरेलले वर्तमान सरकारले जेनजी आन्दोलनले उठाएका एजेण्डाको आधारमा सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तनलगायत मुद्दालाई अघि बढाइरहेको समेत उल्लेख गरेका छन्।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी चुनाव मुलुकका लागि उपयुक्त विकल्प भएको बताउँदै सबै दललाई निर्वाचनमा सहभागी गराउन सरकार सक्रिय हुनुपर्नेमा जोड दिइन्। उहाँले भनेकी छन्, “निर्वाचन नै अहिलेको निकासको सही बाटो हो। यसका लागि सरकारले वातावरण तयार गर्नुपर्छ र दलहरू सहभागी हुनुपर्छ।”
सरकारले हाल विभिन्न राजनीतिक दल तथा पक्षसँग संवाद तीव्र बनाउँदै आगामी निर्वाचनका लागि आवश्यक तयारीलाई गति दिइरहेको बुझिएको छ।

