निर्वाचन नै सरकारको अर्जुनदृष्टि: मन्त्री खरेल
काठमाडौं,मंसिर २ । जेनजी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारलाई जनता, राजनीतिक दल तथा अन्तर्राष्ट्रिय समुदायको विस्तृत समर्थन रहेको बताइएको छ। सरकारलाई आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र समयमै सम्पन्न गर्ने जिम्मेवारी छ। सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिँदै सरकारले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षति र लुटिएका हतियारसम्बन्धी अनुसन्धानलाई अघि बढाएको छ।
निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दल र जेनजी युवासँग निरन्तर संवाद जारी राखेको छ। अधिकांश दलले सकारात्मक संकेत दिएका छन् भने निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक, सामग्री खरिद र अन्य तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। हालसम्म ६ लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन् र नयाँ दल दर्ताको क्रम पनि जारी छ।
सुरक्षाका विषयमा सुरक्षा निकायले विशेष योजना (रोडम्याप) तयार पारेको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका अधिकांश हतियार फिर्ता भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ। बाँकी हतियार विशेष अपरेसनमार्फत संकलन गर्ने तयारी छ।
विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने विषयमा पनि सरकार र निर्वाचन आयोग छलफलमा छन्। केही देशमा पाइलट मतदान प्रणाली लागू गर्ने सम्भावना अध्ययन हुँदैछ।
प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष नेतासँग ‘वान–टु–वान’ वार्ता गर्दै चुनावी वातावरणको विश्वसनीयता बढाइरहेका छन्। उहाँका अनुसार फागुन २१ को निर्वाचन लोकतन्त्रको आत्मा मात्र नभई देशलाई स्थिरता, सुशासन र विकासको मार्गमा अघि बढाउने निर्णायक मोड हो। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने तयारीलाई प्राथमिकताका साथ अघि बढाएको छ।

