प्रधानमन्त्री सुशीला कार्की र कांग्रेसका युवा नेताबीच आगामी निर्वाचनबारे छलफल



काठमाडौँ, मङ्सिर २ — प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताले मङ्गलबार बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र फागुन २१ गते निर्धारित आगामी निर्वाचनका तयारीबारे विस्तृत छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो।

प्रधानमन्त्री कार्कीले समयमै निर्वाचन सम्पन्न गर्न सबै दलको सहयोग अत्यावश्यक रहेको उल्लेख गर्दै निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूको साथ र सक्रियता अपेक्षित रहेको बताउनुभएको नेता निरौलाले उद्धृत गर्नुभयो।

कांग्रेसका युवा नेताहरूले सबै दललाई विश्वासमा लिएर निर्धारण गरिएको मितिमै निर्वाचन गराउन आग्रह गर्दै लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउनेतर्फ सरकार जिम्मेवार रूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।

भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौलालगायत युवा नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्