नुवाकोटको राक्क्षेश्वर धाममा बालाचतुर्दशी मेला, भक्तजनको व्यापक सहभागिता



नुवाकोट,मंसिर २— नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–२ स्थित राक्क्षेश्वर धाममा यस वर्षको बाला चतुर्दशी मेला भव्य रूपमा सुरु भएको छ। मङ्सिर २ गते मङ्गलबार साँझदेखि प्रारम्भ भएको मेला मङ्सिर ३ गते बिहान शतबीज छरेर सम्पन्न नभएसम्म निरन्तर चल्नेछ।

मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षाकर्मीको टोली खटाइएको छ। धाम परिसरमा भक्तजनको बाक्लो भीड लागेको छ भने रातभर जाग्राम बसेर भजन, चुट्का र दोहोरी गीतको प्रस्तुति गरिँदै वातावरण आध्यात्मिक बनेको छ।

बालाचतुर्दशी पर्वको उत्पत्तिसँग सत्ययुगको किंवदन्ती जोडिएको मानिन्छ। कथनअनुसार बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरी विहार गर्नुभएको थाहा पाएपछि पार्वतीले शिवरूपी मृगलाई चिन्न विभिन्न किसिमका बीज छरेकी थिइन्। ती बीज उम्रिएर खुलेपछि आउने मृगहरूको बथानमा पार्वतीले शिवलाई चिन्न सकिन् भन्ने मान्यता छ। यही प्रसंगसँग शतबीज छर्ने परम्परा जोडिएको छ।

दिवङ्गत आत्माको चिरशान्तिका लागि भक्तजनले १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप, किराँतेश्वर लगायत स्थानमा शतबीज छर्ने प्रचलन छ। पर्वको पूर्वसन्ध्या अर्थात् मार्गशीर्ष कृष्ण त्रयोदशीको रात भक्तजन मन्दिर वरपर बस्दै दिवङ्गत पितृका नाममा महादीप बालेर भजन–कीर्तन तथा लोक झाँकीमा सहभागी हुन्छन्।

दिवङ्गत पितृका नाममा दियो बाल्न आउने भक्तजनलाई सहज बनाउन मङ्गलबार साँझदेखि गुरुकुल आसपासमा विशेष व्यवस्थासहित पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको स्थानीय व्यवस्थापन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्