रसुवाको पुरानो तातोपानी पुनः सञ्चालनमा, पर्यटकको चहलपहल बढ्दै
रसुवा,मंसिर २ । रसुवाको आमाछोडिङ्मो गाउँपालिका–५ मा रहेको पुरानो तातोपानी पुनः सञ्चालनमा आएको छ। २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएर सुकेको यो तातोपानी केही वर्षयता क्रमिक रूपमा बग्न थालेको थियो। हाल भने प्राकृतिक मुहानबाट आएको पानी पर्याप्त मात्रामा प्रवाह हुन थालेपछि तातोपानी पूर्ववत रूपमा सुचारु भएको स्थानीयहरूले बताएका छन्।
स्वाभाविक रूपमा मुहानबाट निस्कने तातोपानीमा नुहाउँदा बाथरोग, छाला रोग तथा हड्डी–जोर्नीसम्बन्धी समस्यामा राहत मिल्ने जनविश्वास छ। स्वास्थ्य लाभसँगै प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण यो स्थान फेरि पुरानै आकर्षणतर्फ फर्किन थालेको छ।
तातोपानी खुल्नासँगै स्थानीय तथा बाह्य पर्यटकको आगमन बढेको जनाइएको छ। स्वास्थ्य लाभका साथै मनमोहक वातावरण अनुभव गर्न चाहनेका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्न थालेको छ।

