दोस्रो छहरे महोत्सव आजदेखि सुरु, पर्यटन र व्यापार प्रवर्धनमा जोड
नुवाकोट,मंसिर ३ । ‘दोस्रो छहरे महोत्सव तथा व्यापार मेला’ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । मूलतः नुवाकोटका धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलहरूको प्रचारप्रसार गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले लिखु गाउँपालिकाको आयोजनामा महोत्सव सुरु भएको हो।
महोत्सवको उद्घाटन लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गर्दैछन् ।स्थानीय उत्पादन, पर्यटन तथा सांस्कृतिक पहिचानलाई देशभर परिचित गराउन मेला–महोत्सव महत्वपूर्ण माध्यम हुने महोत्सव संयोजक नवराज ढुंगानाले बताए। उनले छहरे बजार काठमाडौँ नजिकै अवस्थित भएकाले यस क्षेत्रलाई व्यापार तथा पर्यटन विकासको सम्भावनायुक्त गन्तव्यका रूपमा अघि बढाउन सकिने उल्लेख गरे।
गत वर्षको महोत्सव केही विवादका साथ चर्चा आएको हुँदा यस वर्ष स्थानको पहिचान सुदृढ बनाउने र सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रम आवश्यक रहेको स्थानीयवासीहरूले सुझाव दिएका छन्।
महोत्सव सञ्चालनका लागि रु ५७ लाख बजेट लाग्ने महोत्सव संयोजक ढुंगानाले बताए । विनियोजित बजेटमा लिखु गाउँपालिका, जिल्ला समन्वय समिति नुवाकोट, सबै पालिका तथा नुवाकोट उद्योग वाणिज्य सङ्घलगायत विभिन्न संस्थाको सहकार्य रहनेछ।
आयोजकका अनुसार मुनाफारहित मोडेलमा आयोजना गरिएको यो महोत्सवले कृषि, आन्तरिक व्यापार, लोककला–संस्कृति संरक्षण तथा पर्यटन प्रवर्धनमा टेवा पुर्याउनेछ।
महोत्सव मंसिर ३ गतेदेखि १३ गतेसम्म लिखु गाउँपालिका–६ स्थित थान्सिङ फाँटमा संचालन हुनेछ। उद्घाटनसहित कार्यक्रम स्थानीय झाँकी प्रस्तुति, बाजागाजा तथा साँस्कृतिक आकर्षणले भरिपूर्ण रहने आयोजकले जनाएको छ।

