बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति, बेलकोटगढी नगरपालिकाद्वारा ८० लाखको राहत कोष स्थापना



नुवाकोट,मंसिर ३ । बेमौसमी वर्षाले बेलकोटगढी नगरपालिकाका किसानको धानबालीमा व्यापक क्षति पुर्‍याएपछि स्थानीय सरकारले राहत वितरणलाई प्राथमिकतामा राख्दै करिब ८० लाख रुपैयाँ बराबरको राहत कोष स्थापना गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिको एक महिनाको तलब तथा विभिन्न कार्यालय र विद्यालयका कर्मचारी–शिक्षकको एक दिनको तलबमार्फत यो रकम संकलन गरिएको हो।

नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार ७७५२ रोपनी धानबालीमा क्षति पुगेको छ। बालीनाली नष्ट भएको विवरण आएपछि कार्तिक ३० गते बसेको कार्यपालिका बैठकले प्रभावित किसानलाई छिटोछरितो क्षतिपूर्ति वितरण गर्ने निर्णय गरेको हो। राहत वितरणमा पारदर्शिता सुनिश्चित गर्न वडास्तरको प्रत्यक्ष अवलोकन, कृषि शाखाको प्राविधिक प्रतिवेदन र किसान स्वयंले दिएको विवरणलाई आधार बनाइने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख जगत बहादुर गुरुङले किसानलाई प्राथमिकतामा राख्दै भने, “किसान उत्पादनकर्ता मात्र होइन, नगरको मेरुदण्ड हुन्। अहिले राहत घर–घरमा पुर्‍याउनु नै हाम्रो लक्ष्य हो।”

नगरपालिकाले एक हप्ताभित्र प्रभावित किसानलाई वडा कार्यालयमा सम्पर्क गरेर आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। बाली नष्ट भएर आत्तिएका किसानले स्थानीय सरकारको सहयोगले आशा पलाएको प्रतिक्रिया दिएका छन्।

स्थानीय तहको एकीकृत प्रयासले किसानलाई आर्थिक राहतसँगै मनोबल समेत बढाएको नगरपालिकाको दाबी छ। साथै, आगामी वर्ष यस्ता विपद् पुनरावृत्ति रोक्न दीगो कृषि योजना र प्राविधिक तयारी अघि सारिने जानकारी दिएको छ।

यसैबीच, नुवाकोट जिल्लाभर ३ हजार हेक्टरमा १८ करोड रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्