पशुपतिमा शतबीज छर्ने भक्तजनको भीड, दिवंगत पितृको सद्गतिको कामनामा श्रद्धालुको रातभरि जाग्राम



काठमाडौं,मंसिर ३। मार्गशीर्ष कृष्ण त्रयोदशीका अवसरमा हरेक वर्षझैँ यस वर्ष पनि पशुपति क्षेत्र भक्तजनको भीडले भरिएको छ। दिवंगत पितृको सद्गतिको कामना गर्दै श्रद्धालुहरूले पितृका नाममा दीप बाली पूजा–अर्चना गर्ने परम्परा अनुसार मंगलबार साँझदेखि नै पशुपतिनाथ परिसरमा विशेष भीड देखिएको हो।

त्रयोदशीको रात भक्तजनले विधिपूर्वक दीप बालेर जाग्राम बसे। भजन–कीर्तन, स्तुति, र धार्मिक कार्यक्रममा सहभागी हुँदै भक्तजनहरूले रातभर पशुपति क्षेत्रलाई उज्यालो र श्रद्धाले पूरै भरिएका थिए।

बाला चतुर्दशीका दिन बुधबार बिहान भने भक्तजनहरू कैलाश चौर, पशुपति क्षेत्र, गुह्येश्वरी, आर्यघाटलगायत स्थानमा दिवंगत पितृहरूको सम्झनामा शतबीज छर्ने क्रम जारी छ। पितृ मोक्ष र आत्मशान्तिका लागि विधिपूर्वक शतबीज छर्ने परम्परा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

यो पर्वलाई सत्ययुगको प्रसंगसँग जोडेर व्याख्या गरिन्छ, जहाँ पार्वतीले शिव मृगरूपमा दर्शन दिनुभएको थाहा पाएपछि बथान चिन्न विभिन्न बीज छरेकी थिए। सोही परम्परा आजका दिन पितृ मोक्षका रूपमा श्रद्धापूर्वक पालना गरिन्छ।

बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्र आज बिहानैदेखि दर्शन, पूजाअर्चना र शतबीज छर्ने भक्तजनले ठसाठस भरिएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले मेलाको अवरोध रहन नदिन व्यवस्था मिलाएका छन्।

प्रतिक्रिया दिनुहोस्