नुवाकोटमा अन्तरविद्यालय फुटबल प्रतियोगिता सम्पन्न, दुवै उपाधि अर्किड एकेडेमीले जित्यो
नुवाकोट,मंसिर ३ । नुवाकोटको वट्टारमा विद्यालयस्तरमै खेलकुदको विकास गर्ने उद्देश्यसहित सञ्चालन भएको जिल्लास्तरिय यू–१४ अन्तरविद्यालय फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको छात्र तथा छात्रा दुवै फाइनल खेलमा अर्किड एकेडेमी विजयी बनेको छ।
छात्रातर्फको फाइनलमा अर्किड एकेडेमीले चन्द्रज्योति माध्यमिक विद्यालयलाई एक गोलको झिनो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेकाले दर्शकले उच्च रुचि देखाएका थिए।
त्यसैगरी छात्रतर्फको फाइनल खेलमा पनि अर्किड एकेडेमीले जित निकालेको छ। रणभुवनेश्वरी माध्यमिक विद्यालयसँगको भिडन्त निर्धारित समयमा २–२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा अर्किडले ३–२ को जित निकाल्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।
प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै अर्किडका खेलाडी सन्जित कुमाल म्यान अफ दि म्याच र सन्जोग कुमाल उत्कृष्ट खेलाडी घोषित भए। रणभुवनेश्वरीका विजय माझी उदियमान खेलाडी र महेन्द्र माविका विवेक तामाङ सर्वाधिक गोलकर्ताको रुपमा छनोट भए। रणभुवनेश्वरीकै सिरिस माझी उत्कृष्ट गोलरक्षक बने।
प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ ४ गरी कुल २० विद्यालय सहभागी थिए। विजेता तथा उपविजेतालाई विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले पुरस्कार वितरण गर्दै खेलले युवामा अनुशासन, मेहनत र सकारात्मक सोच विकास गर्ने उल्लेख गरे।
स्व. अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बानियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिता नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न भएको हो। फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारका अनुसार प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी पहिचान गर्न र स्थानीय स्तरमा फुटबल प्रवर्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

