दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग अध्यक्ष ओलीकाे आग्रह



काठमाडौँ,मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई सरकारले तत्काल रिहा गर्नुपर्ने माग गर्नुभएको छ। बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले मध्यरातमा गरिएको गिरफ्तारी गैर–लोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो।

अध्यक्ष ओलीका अनुसार प्रसाईविरुद्ध गरिएको कार्यवाही ‘अभिव्यक्तिको अधिकारमाथिको अंकुश’ हो। उहाँले भन्नुभयो, “अपराध गरे पो थुन्ने हो, भएको भिडियो बाहिर ल्याउनु अपराध हो र? राति–राति तमासा गरिरहेको छ यो सरकारले।”

बारामा एमालेसमर्थक युवाहरूको भेलामा जेनजी समूहका नाममा गरिएको आक्रमण, ढुंगामुढा र विमानस्थल अवरुद्ध भएको घटनाप्रति पनि ओलीले सरकारमाथि प्रश्न उठाउनुभयो। उहाँले भनुभयो, “यहाँ बोल्न पनि नपाइने भयो, सभा गर्न नदिनेले चुनाव कसरी गर्छ? कस्तो चुनाव गर्न चाहनुहुन्छ, प्रधानमन्त्री जी?”

देश छोडेर भाग्ने पार्टी एमाले नभएको जिकिर गर्दै ओलीले आवश्यक परे सडकबाटै प्रतिरोध गर्ने चेतावनी दिनुभयो। उहाँले ‘जेनजीका नाममा भइरहेको आतंक रोक्न’ सरकारलाई आग्रह गर्दै अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाउने किसिमका कदमले चुनावी वातावरण नै कमजोर भएको टिप्पणी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्