भाषा, संस्कृति र पहिचानका लागि ‘लिखु छहरे महोत्सव’ : अध्यक्ष ध्रुव श्रेष्ठ
नुवाकोट,मंसिर ३। लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले भाषा, संस्कृति र स्थानीय पहिचानको संरक्षणका लागि ‘लिखु छहरे महोत्सव’ आयोजना गरिएको बताएका छन्। बुधबार लिखु गाउँपालिका–६ थान्सिङ फाँटमा सुरु भएको दोस्रो लिखु छहरे महोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
अध्यक्ष श्रेष्ठका अनुसार पहिले महोत्सवहरू सदरमुकाम तथा शहरी क्षेत्रमा मात्र सीमित हुने गरे पनि अब गाउँपालिका र स्थानीय क्षेत्रकै पहलमा महोत्सव सञ्चालन हुन थालेपछि लोपोन्मुख लोक संस्कृति, भाका र परम्परा जगेर्नामा महत्वपूर्ण टेवा पुगेको छ।
अध्यक्ष श्रेष्ठले भने, “लिखुको सान र पहिचान जोगाउन यस्ता सांस्कृतिक महोत्सव अपरिहार्य छन्। स्थानीय नागरिक, व्यापारी तथा व्यवसायी सबैले यसलाई आफ्नो अभियान भनेर सहयोग गर्नुपर्ने आवश्यक छ।”
उनका अनुसार महोत्सवले लिखु क्षेत्रको उत्पादन, पर्यटन, कला, संस्कृति र व्यापारलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने विश्वास गरिएको छ। बुधबारदेखि शुरु भएको महोत्सव मंसिर १४ गतेसम्म लाग्नेछ ।

