प्रधानमन्त्रीको निर्देशनमा बारामा एमाले कार्यक्रम भाँड्ने प्रयास भएको आरोप: नेता बस्नेत



काठमाडौँ, कात्तिक ३ –– नेकपा (एमाले) का नेता महेश बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेको कार्यक्रम भाँड्ने प्रयास भएको आरोप लगाएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सत्तापक्षले एमालेको जनसमर्थन बढ्दै गएको देखेपछि डर पैदा भएको दाबी गरे।

बस्नेतका अनुसार एमालेलाई जनतामा गएर “देशलाई अघि बढाउने अभियान” सञ्चालन गर्न कुनै शक्ति रोक्न नसक्ने बताए। उनले पार्टी संगठन विस्तार र जनसमर्थनलाई थप सुदृढ बनाउँदै एमालेले आगामी दिनमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बस्नेतले युवा आन्दोलनको नाममा अराजक गतिविधि फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकार मौन बसेको आरोप लगाए। “जेनजी आन्दोलनको नाममा अराजकता फैलाउने अभ्यास हुँदैछ, तर युवा शक्ति निर्माण, विकास र परिवर्तनतिर लाग्नुपर्छ,” उनले भने।

त्यसै क्रममा बस्नेतले पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धालाई खुला चुनौती दिँदै “नेता बन्न रहर भए प्रतिस्पर्धाबाट आउनुस्” भन्दै स्वस्थ आन्तरिक लोकतन्त्रको पक्षमा आवाज उठाए। उनले आगामी महाधिवेशनमा केपी शर्मा ओलीलाई फेरि पार्टी अध्यक्ष बनाएर देश र पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्