प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन



प्युठान,मंसिर ४ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङ वाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनहरूको बुधबार भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर  गीताञ्जली ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति रहेको थियो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवनहरू तथा अन्य सम्बद्ध संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्युठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

श्री दाङ वाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीहरूका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६० प्रतिशत छात्राहरू रहेका छन् ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्युठानको श्री दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्नेछ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउने  काठमाडौँस्थित भारतीय राजदूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्