देशभर चिसोको चुनौती : हिमालदेखि तराईसम्म विपत् जोखिम बढ्दै
काठमाडौँ, मङ्सिर ४ । चिसो याम सुरु हुनासाथ नेपालका हिमाल र तराई दुबै क्षेत्रमा प्राकृतिक विपत्तिको जोखिम बढ्दै गएको छ । सगरमाथा फेदका सोलुखुम्बु तथा मनाङमा कात्तिकमै अत्यधिक हिमपात सुरु भएपछि पहिरो, हिउँपहिरो र आवागमन अवरुद्ध हुने डर थपिएको छ । स्थानीयले अध्ययन टोली मागे पनि नपुगेको, संचार टावर बिग्रिएकाले उच्च भेगमा सूचना प्रवाह रोकिएको र उद्धारका लागि पर्याप्त जनशक्ति नहुँदा ज्यान जोगाउन कठिनाइ बढ्ने जिल्ला प्रशासनको चिन्ता छ ।
मनाङमा विगतका चक्रवात, बेमौसमी हिमपातले ज्यान गुमेको इतिहास दोहोरिन सक्ने आ आशंका छ । हिउँद छिट्टै सुरु भएसँगै विद्युत् अवरुद्ध, अत्यधिक चिसो र बसाइँसराईंको तयारी तीव्र बनेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।
उता तराईमा पनि शीतलहरको ठूलो जोखिम देखिएको छ । महोत्तरी, रौतहटलगायत क्षेत्रमा असोज–कात्तिकको बेमौसमी वर्षा र डुबानले घर–टहरा भत्किएपछि स्थानीय खुलेआकाशमै चिसो सहन बाध्य छन् । बाँध क्षति, भुइँको चिसो, दाउरा र न्यानो कपडाको अभावले गरीब वर्ग थप जोखिममा परेको प्रशासनले जनाएको छ ।
यी चुनौतीका बीच विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘शीतलहर र हिमपात प्रतिकार्य योजना–२०८२’ सार्वजनिक गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले हिमपात र शीतलहर पूर्वानुमानयोग्य भएकाले पूर्वसूचना प्रणाली मजबुत बनाउनु अत्यावश्यक रहेको बताउँदै रेडियो, टिभी, एसएमएस, सामाजिक सञ्जाल र स्थानीय निकायमार्फत समयमै सूचना प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले तीनै तहका सरकार, सुरक्षा निकाय, सञ्चार माध्यम र निजी क्षेत्रले सहकार्य गर्दै जिउधन जोगाउन संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

