दल दर्तामा अड्को : पाँच सय हस्ताक्षर नपुग्दा २९ दल रोकिए
काठमाडौँ, मङ्सिर ४ । निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न निवेदन दिएपछि आवश्यक पाँच सय मतदाताको हस्ताक्षर बुझाउन नसक्दा २९ दलको दर्ता प्रक्रिया रोकिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार दल दर्ताका लागि कम्तीमा पाँच सय व्यक्तिले दलको सदस्यता लिएर प्रतिबद्धतापत्रसहित नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि बुझाउनुपर्छ । तर, अधिकांश प्रस्तावित दलले यो प्रक्रिया पूरा गर्न सकेका छैनन् ।
पूर्वआयुक्त दोलखबहादुर गुरुङले पाँच सय व्यक्तिको हस्ताक्षर प्रमाणित गर्न नसक्ने समूहले दल संचालन गर्न नसक्ने टिप्पणी गर्दै, “दल चलाउन सामूहिक उद्देश्य र संगठनात्मक क्षमता अनिवार्य छ,” भन्नुभयो । कतिपय दलले पाँच सय हस्ताक्षर मात्र होइन, केन्द्रीय समितिका पदाधिकारी र सदस्यको सनाखतसमेत गराउन सकेका छैनन् ।
आयोगका अनुसार हालसम्म राष्ट्र निर्माण दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टीले मात्र प्रमाणपत्र पाएका छन् । आगामी निर्वाचनमा भाग लिन कात्तिक ३० गतेसम्म निवेदन दिएको दलले मङ्सिर १० गतेभित्र सबै प्रक्रिया पूरा गर्नुपर्नेछ ।
उज्यालो नेपाल पार्टीले पाँच सयमध्ये ३५९ जनाको मात्रै सनाखत गराएको छ भने स्वाभिमान पार्टीले चार दिनमा चार सय हस्ताक्षर बुझाउन सकेको छ । पिपुल फर्स्ट पार्टी अन्तिम चरणमा पुगेको छ । बाँकी २१ दलको प्रगति आयोगलाई जानकारी नै गराइएको छैन । आयोगसँग हस्ताक्षरकर्ता अर्को दलको सदस्य नभएको प्रमाणित गर्ने सफ्टवेयर नभएकाले स्वघोषणामै भर पर्नुपर्ने अवस्था रहेको आयोग स्रोतले जनाएको छ ।

