मुख्य राजमार्गमा ट्रलीबस सञ्चालन सम्भाव्यता अध्ययन गर्न कुलमानको आग्रह



काठमाडौँ,मंसिर ४– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको चक्रपथ र विभिन्न मुख्य राजमार्गमा विद्युतीय ट्रलीबस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि एसियाली विकास बैंक (एडिबी) लाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

बुधबार एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुस्वालसमेतको टोलीसँग दिगो सहरी विद्युतीय परियोजनाबारे जानकारी लिँदै मन्त्री घिसिङले काठमाडौँ चक्रपथ, काठमाडौँ–धुलिखेल, पोखरा–मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायत सडक विस्तार भइरहेकाले एक लेनलाई ट्रलीबसका लागि प्रयोग गर्न सकिने बताउनुभयो। उहाँले “उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन सार्वजनिक यातायातमा ट्रली जस्ता विद्युतीय सवारी अनिवार्य रूपमा थप्नुपर्छ,” भन्नुभयो।

२०३३ सालमा चीन सरकारको सहयोगमा त्रिपुरेश्वर–सूर्यविनायक रुटमा सुरु भएको ट्रलीबस सेवा २०६६ सालदेखि बन्द छ। पछिल्ला वर्षमा एडिबीको सहयोगमा काठमाडौँ, पोखरा र लुम्बिनी–बुटवल–सिद्धार्थनगर कोरिडोरमा विद्युत्मार्फत सञ्चालन हुने सार्वजनिक यातायात प्रणाली विकास गर्ने तयारी भइरहेको छ।

परियोजना अन्तर्गत २५० वटा विद्युतीय सार्वजनिक सवारीसाधन सञ्चालन गरिनेछ। हाल परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ भने नगर विकास कोष र पूर्वाधार विकास बैंकमार्फत स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ। पोखरामा कार्यान्वयनका लागि गण्डकी प्रदेशमा सार्वजनिक यातायात प्राधिकरण स्थापना प्रस्ताव गरिएको छ।

१६ करोड अमेरिकी डलर (करीब २२ अर्ब ५६ करोड रुपैयाँ) लागत अनुमान गरिएको परियोजनामा १० करोड डलर एडिबीको सहुलियतपूर्ण कर्जा, ४ करोड डलर शून्य ब्याजदरको कर्जा र बाँकी रकम नेपाल सरकारले बेहोर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्