कफ्यूकाबीच सिमरामा जेन्जी समूहको प्रदर्शन, प्रहरीले अश्रुग्यास प्रयोग
बारा,मंसिर ४ । बाराको सिमरा क्षेत्र कफ्यू आदेशकै बीच आज पुनः तनावग्रस्त बनेको छ। कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको जेन्जी समूहलाई प्रहरीले प्रदर्शन नगर्न चेतावनी दिँदै केही राउन्ड अश्रुग्यास प्रहार गरेको हो। अश्रुग्यासका कारण केही प्रदर्शनकारी घाइते भएको प्रहरी स्रोतले जनाएको छ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जेन्जी समूहसँग वार्ताका लागि सदरमुकाम कलैया बोलाए पनि समूहका नेताहरू पुग्न नआएको प्रशासनले जनाएको छ। वार्तामा उपस्थित हुन आग्रह गरिए पनि उनीहरूले सिमरामै नाराबाजी गर्दै विरोध जारी राखेका छन्।
सिमरा चोक र आसपासका क्षेत्रमा भइरहेको प्रदर्शनले वातावरण तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार पुनः सूचना जारी गर्दै कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ। प्रशासनले सार्वजनिक सुरक्षा र शान्ति-व्यवस्था कायम गर्न कफ्यू आदेश पालना गर्न सबैलाई आग्रह गरेको छ।


