नुवाकोटको म्यागङ जंगलमा वेवारिसे शव, प्रहरीद्वारा सनाखतको अपिल (फोटोसहित)
नुवाकोट,मंसिर ४ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले वेवारिसे अवस्था भेटिएको एक पुरुषको शवको सनाखतका लागि सार्वजनिक अपिल गरेको छ। प्रहरीका अनुसार मंसिर ३ गते साँझ करिब ५:२० बजेतिर म्यागङ गाउँपालिका–२, नाकेकुवा जंगलस्थित गोरेटो बाटोमा नामथर नखुलेको पुरुषको शव फेला परेको हो।
सडीगलेको अवस्थामा भेटिएको शवको प्रारम्भिक जाँचपछि प्रहरी टोलीले मुचुल्का कार्य पूरा गर्दै पोष्टमार्टमका लागि त्रिशुली अस्पतालको शवगृहमा राखिएको जनाएको छ। मृतकको पहिचान हालसम्म नखुलेको भन्दै प्रहरीले नागरिकलाई सहकार्य गर्न आग्रह गरेको छ।
प्रहरीले उपलब्ध गराएको विवरण अनुसार मृतक पुरुष करिब ४० वर्ष उमेरका, करिब ६ फिट उचाइ, मझौला शरीर, सेतो टी–सर्ट र कालो ट्र्याक लगाएको अवस्था पाएिएको छ। कोहीले चिन्ने वा पहिचान गर्नसक्ने भएमा प्रहरीले निम्न मोबाइल नम्बर– ९८५१२५३७२४, ९८५१२८५१९९, ९८५१२८२८११ मा सम्पर्क गर्न आग्रह गरेको छ।


