नुवाकोटको एक विद्यालयलाई जापानिज कम्पनीद्वारा नयाँ बस हस्तान्तरण
नुवाकोट,मंसिर ५ । विदुर नगरपालिका–१० वेत्रावतीस्थित रामचन्द्र माध्यमिक विद्यालयले नयाँ स्कूल बस प्राप्त गरेको छ। विद्यालयका लागि करियर नेभिगेटी जापानिज (Career Navigaty Japanese) कम्पनीले बस हस्तान्तरण गरेको हो। बस हस्तान्तरणसँगै विद्यालयका विद्यार्थी खुसी भएका छन्।
विद्यालय आउजाउमा सहजता नहुँदा वर्षौंदेखि समस्या झेल्दै आएका विद्यार्थीले नयाँ बस पाएपछि खुशी भएका हुन् । उनीहरू यो बसलाई ‘उपहार’ सरह मान्दै उत्साह र उमङ्गले दंग परेको विद्यालय व्यवस्थापनले जनाएको छ।
विसं २०१६ मा स्थापना भएको रामचन्द्र माध्यमिक विद्यालय हाल नुवाकोट र रसुवाका वेत्रावती क्षेत्रका स्थानीयको साझा शैक्षिक धरोहरका रूपमा स्थापित भएको छ। दर्जनौं विद्यार्थीको भविष्य निर्माणमा योगदान दिँदै आएको यो विद्यालयलाई अझ सबल, उन्नत र आदर्श शिक्षालयका रूपमा अघि बढाउन सबै सरोकारवालाले सहकार्य गर्नु आवश्यक रहेको विद्यालय पक्षले बताएको छ।
बस हस्तान्तरणले विद्यालयको शैक्षिक वातावरण, पहुँच र विद्यार्थी सेवामा थप सुधार आउने अपेक्षा गरिएको छ।

