नुवाकोट पञ्चकन्यामा सुरक्षित वैदेशिक रोजगारी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न
नुवाकोट,मंसिर ५ । जिल्लाको पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित ‘सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम’ बिहीबार गाउँपालिकाको वडा नम्बर–२ स्थित नवसञ्जीवनी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। समुदायस्तरमा वैदेशिक रोजगारीबारे सही जानकारी, सचेतना र मार्गनिर्देशन पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक लोकनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। रोजगार सेवा केन्द्रका रोजगार संयोजक सरोज केसी (सरोवर) ले कार्यक्रमको सहजीकरण गर्दै विदेशिनुअघि पूरा गर्नुपर्ने तयारी, कानुनी प्रक्रिया, जोखिम तथा सुरक्षित वैदेशिक रोजगारीका उपायबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा वडा नं. २ का वडा सचिव विष्णुमणी घिमिरे, मनोसामाजिक परामर्शदाता सुष्मा रावत, विद्यालयका शिक्षक–विद्यार्थी, वैदेशिक रोजगारीमा रहँदै आएका तथा विदेश जान चाहने युवाहरू र स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।
समुदायमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी चेतना जगाउन सहयोग गर्ने सबैलाई आयोजकले हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

