एमालेमा फर्किएका नेताहरू महाधिवेशन प्रतिनिधि बन्ने
काठमाडौं,मंसिर ५ । नेकपा एमालेले हाल पार्टीमा पुनः प्रवेश गरेका नेताहरूलाई आगामी महाधिवेशनका लागि प्रतिनिधि बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पछिल्ला समय ‘घर फर्की अभियान’ मार्फत पार्टीमा प्रवेश गरेका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो।
निर्णयबारे जानकारी दिंदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेमा रहँदा केन्द्रीय समितिमा रहेका तथा अब पुर्न प्रवेश गरेका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाइने बताए।
हालै एमालेले ‘घर फर्की अभियान’ अन्तर्गत रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पुनः पार्टी प्रवेश गराएको थियो। उनीहरू दुवै पूर्वमा एमालेको केन्द्रीय नेतृत्वमा रहेका नेताहरू हुन्।
एमालेले जारी घर फर्की अभियानलाई अझ तीव्र बनाउने तयारीसमेत सचिवालय बैठकले गरेको बुझिएको छ।

