प्रधानमन्त्री कार्की र माओवादी नेता विप्लवबीच भेट, ‘सरकारलाई पूर्ण समर्थन’
काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री कार्कीसँग समसामयिक राजनीतिक विषयमा राय–विचार राख्न भेट गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो।
भेटमा महासचिव विप्लवले हालको सरकार जनविद्रोहको बलमा बनेको भन्दै आफ्नो पार्टीले पूर्ण समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभयो, “विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ।”
उनले देशमा उत्पन्न वर्तमान अवस्थाको सुरक्षित निकास तथा स्थिरताका लागि दलहरूबीच अझ व्यापक राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गर्दै थपिए, “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ। जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ।”
भेट वार्तालाई आगामी राजनीतिक सहमति विस्तार र आन्दोलनसम्बन्धी संवेदनशील मुद्दा समाधानका दिशाका रूपमा अर्थ लगाइरहेको बताइएको छ।

