दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित, केन्या २८–२१ ले पराजित
काठमाडौँ,मंसिर ५ । बंगलादेशको ढाकामा जारी दोस्रो महिला कबड्डी विश्वकपमा नेपालले आफ्नो तेस्रो शानदार जित दर्ता गरेको छ। बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपालले केन्यालाई २८–२१ अंकले पराजित गर्दै समूह चरणमा बलियो स्थितिमा उभिन सफल भएको हो।
खेलको पहिलो हाफमा नेपालले १३–११ को केवल दुई अंकको अग्रता बनाउन सफल भएको थियो। तर दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै नेपालले १५ अङ्क थप गरेपछि खेल आफ्नो पक्षमा तान्न सफल भयो।
यससँगै नेपालले समूह चरणका चार खेलमध्ये तीन खेलमा जीत र एकमा हार भोगेको छ।
नेपालले यसअघि जन्जिबारलाई ५८–१६ ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। बुधबार भएका खेलहरूमा नेपालले मिश्रित नतिजा निकालेको थियो, जसमा चीनिज ताइपेईसँग ३१–१५ ले हार सामना गर्नु परेको थियो भने पोल्यान्डलाई ६३–२५ ले फराकिलो जित दर्ता गरेको थियो।
१३ वर्षपछि प्रतियोगिता
महिला कबड्डी विश्वकप १३ वर्षपछि दोहोरिएको हो। सन् २०१२ मा भारतको पटना शहरमा पहिलो महिला कबड्डी विश्वकप आयोजना गरिएको थियो। सो प्रतियोगितामा भारत च्याम्पियन, इरान उपविजेता र जापान तेस्रो बनेका थिए।

