धनकुटाको पाख्रिवासमा माइक्रो दुर्घटना : एक महिलाको मृत्यु, १४ घाइते
धनकुटा,मंसिर ५। धनकुटाको पाख्रिवासमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको सप्तकोशी कम्पनीको बा ४ ख ५५०२ नम्बरको हाइस माइक्रो बस अनियन्त्रित भई मध्यपहाडी लोकमार्गस्थित पाख्रिवास नगरपालिका–५ भैँसेमा करिब ७० मिटर तल खसेपछि घटना घटीएको हो। दुर्घटनामा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय पाख्रिवासका प्रवक्ता नारायणप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोलीले घाइतेको उद्धार गरी विभिन्न सवारीसाधनमार्फत जिल्ला अस्पताल धनकुटा पुर्याइएको सूचना अधिकारी डीएसपी राजन कार्कीले जानकारी दिएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र चालक दिपेन्द्र बुढाथोकी तथा खाँदबारी–७ का रत्नबहादुर विकलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ।
घाइतेमध्ये धनकुटा महालक्ष्मी–३ की प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङ–३ की सगीता राई र नरेन्द्र राई, पाँचखपन–९ की लमु शेर्पा, उदयपुर लिम्चुङबुङ–१ की निर्जला राई, बिनिता राई र जेसन राई, सिन्धुलीका सन्तबहादुर तामाङ, भोजपुर साप्लासिलिचुङ–५ का पासाङ शेर्पा रहेका छन्। दुर्घटनाको कारण स्पष्ट नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

