एमालेले आज राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दै
काठमाडौँ,मंसिर ५। नेकपा एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्न लागेको छ। सो बल कार्यक्रम आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ, जहाँ एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्।
कार्यक्रम सुरु हुनु अघि बबरमहलबाट माइतीघर हुँदै बानेश्वरसम्म मार्चपास गर्ने योजना रहेको एमालेले जनाएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभाको पुनर्स्थापनाको माग राख्दै आएको एमालेले पार्टी नेता र कार्यकर्ताको सुरक्षा तथा आम नागरिकको सुरक्षालाई औंल्याउँदै विभिन्न संयन्त्र निर्माणको प्रक्रिया अघि बढाइरहेको छ।
एमालेले यसअघि पनि ‘घर फर्किऔँ अभियान’ लगायतका संगठन विस्तार गतिविधिलाई तीव्रता दिँदै राजनीतिक तथा सामाजिक संरचनागत तयारीलाई गति दिएको दाबी गर्दै आएको छ। पार्टी निकट स्रोतका अनुसार राष्ट्रिय स्वयंसेवक बलले संगठन, सुरक्षा, विपद् व्यवस्थापन र भीड नियमनमा भूमिका निर्वाह गर्ने भनिएको छ।

