‘नेशनल भोलेन्टियर फोर्स’ हिंसा नभई अराजकता रोक्न बनाइएको हो’ : एमाले अध्यक्ष ओली
काठमाडौं,मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणा गरेको स्वयंसेवी दस्ता ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ कसैको विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध निर्माण गरिएको दाबी गरेका छन्। बबरमहलमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले राज्य संयन्त्रले मात्र जनता, जनधन, उद्योग प्रतिष्ठान र मिडिया हाउसको सुरक्षा गर्न नसक्ने अवस्थाले स्वंयसेवी फोर्सको आवश्यकता देखिएको बताए।
अध्यक्ष ओलीले शान्ति भंग गर्ने, आगजनी तथा तोडफोड गर्ने समूहलाई रोक्ने उद्देश्यले एनभिएफलाई गठन गरिएको स्पष्ट पारे। उनले भने, “यदि कसैले शान्ति भंग गर्न खोज्छ भने हामीले रोक्नु पर्छ। आगजनी, तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोकिन्छ।”
उनका अनुसार फोर्स प्राकृतिक विपत्ति नियन्त्रण र जनताको समस्या समाधानमा समेत सक्रिय रहनेछ। उनले एनभिएफ कुनै राजनीतिक प्रतिशोध वा व्यक्तिगत अहितका लागि नभएको उल्लेख गर्दै यसले एमाले मात्र होइन पार्टीका विरोधीहरूलाई समेत सुरक्षा दिने दाबी गरे।
भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनमा नक्कली समूह खडा भएर तोडफोड र आगजनी गरेको आरोप लगाउँदै ओलीले भने, “हामीले गठन गरेको फोर्स यस्ता अराजकतावादी काम गर्दैन, यो कुनै पेइड समूह पनि होइन।”
प्रधानमन्त्री सुशीला कार्कीले सरकार असफल भए थप विद्रोह हुने चेतावनी दिएको प्रसंग उल्लेख गर्दै ओलीले त्यसप्रति आपत्ति जनाए। उनले प्रश्न गरे, “देशमा थप विध्वंस मच्चाउने तपाईंको योजना हो कि सपना? योजना हो भने पुरा हुन दिइँदैन, सपना हो भने यस्तो विध्वंसकारी सपना देख्न छोड्नुहोस्।”

