‘आफ्ना नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्छन्’ : एमाले नेता बस्नेत



काठमाडौं,मंसिर ५ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएको खण्डमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्। बबरमहलमा आयोजित नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) घोषणासभालाई सम्बोधन गर्दै बस्नेतले असंवैधानिक कार्की आयोगले बेला–बेला एमाले नेताहरूलाई बयानमा बोलाउने हल्ला फैलाइरहेको भन्दै त्यसो भए ठूलो संख्यामा कार्यकर्ता सिंहदरबार जाने बताएका हुन्।

बस्नेतले भने, “आज यहाँ उपस्थित भएका भन्दा पाँच गुणा कार्यकर्ता सिंहदरबार प्रवेश गर्नेछन्। हामी भदौ २४ गतेका अराजकहरु जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौं, बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबारबाट बिदाइ गर्छौं।”

उनले १ लाख जनताको उपस्थितिमा सिंहदरबार भित्रै आमसभा आयोजना गर्ने पनि दाबी गरे। साथै, पछिल्लो समय ‘नेपो बेबी’ आरोप लगाइएका नेताका छोराछोरीमाथि गरिएको आरोपबारे बस्नेतले अहिलेको सरकारका प्रधानमन्त्री र ११ जना मन्त्री–अधिकारीका छोराछोरी विदेशमा रहेको दाबी गर्दै वास्तविक ‘नेपो बेबी’ त्यहीं रहेको टिप्पणी गरे। “नेपो बेबीका ड्याड–मम्स्ले शासन चलाएका छन्, यो जायज छैन,” बस्नेतले भने।

कार्यक्रममा बस्नेतले एनभिएफ पार्टीको नीति, नेतृत्व, प्राकृतिक प्रकोपमा राहत तथा उद्धारका लागि परिचालन हुने फोर्स भएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको यस कार्यक्रम अहिले पनि जारी छ।

प्रतिक्रिया दिनुहोस्