बिदाइ भए नुवाकोट लिखुका प्रधानाध्यापक फुयाल
नुवाकोट,मंसिर ५ । करिब तीन दशकसम्म शिक्षण क्षेत्रमा समर्पित रहँदै उदाहरणीय योगदान गर्नुभएका शिक्षक तथा प्रधानाध्यापक मधु प्रसाद फुयालले अनिवार्य अवकाश लिनु भएको छ।
२०५० सालमा स्थायी शिक्षकको रूपमा पञ्चकन्या माध्यमिक विद्यालयबाट शिक्षण यात्रा सुरु गर्नुभएका फुयाल २०५२ सालमा लिखु गाउँपालिका–४ स्थित महेन्द्रोदय जनसेवा प्रा.वि.मा सरुवा भई आउनुभएको थियो। २०५७ सालदेखि प्रधानाध्यापक (प्र.अ.) का रूपमा नेतृत्व सम्हाल्दै उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार, सामुदायिक विश्वास कायम गर्न तथा विद्यार्थीमैत्री शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।
स्थानीय अभिभावक, विद्यालय परिवार तथा समुदायको विश्वासिलो प्रधानाध्यापकका रूपमा स्थापित फुयालले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको विद्यालय स्रोतले जनाएको छ। उहाँले अवकाश पश्चात पनि शिक्षा क्षेत्रमा आवश्यक परेमा सहकार्य गर्न आफू सधैं तयार रहने बताउनुभयो।
विद्यालय परिवारले उहाँको समर्पण, सेवाभाव र अमूल्य योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी जीवन सु–स्वास्थ्य र सुखमय रहोस् भनेर शुभकामना व्यक्त गरेको छ। बिदाइ समारोहमा लिखु गाउँपालिकाका शिक्षा प्रमुख शेरसिंह रावत, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियोे ।

