देशभर ७ लाख भन्दा बढी नयाँ मतदाता थपिए
काठमाडौं,मंसिर ५ । नयाँ मतदाता नामावली सङ्कलनको म्याद आज सकिएको छ ।
निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसपटक निर्वाचन आयोगले अनलाईनमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था गरेको थियो ।
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि नाम दर्ता गराएका मतदाताहरुले मंसिर २१ देखि २७ गतेसम्म आफूले भरेको तथ्याङ्क गलत भए सच्याउन निवेदन दिनसक्ने जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै मंसिर २० गते मतदाताको नामावली प्रकाशन हुने र नामावलीमा कुनै त्रुटि भएमा सच्याउन सकिने जनाएको हो ।
यसैगरी, आजसम्ममा ३७ दलले निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि निवेदन दिएका छन्। दल दर्ता गर्नुपर्ने अवधि यही मंसिर १० गतेसम्म रहेको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म निर्वाचनमा सहभागी हुन निवेदन दिएका छैनन ।

